समाचारस्थानिय समाचार

उद्घोषण प्रशिक्षण सम्पन्न

१० असार २०८२, ललितपुर ।
ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले प्रशिक्षार्थीहरुमा आएको परिवर्तनजले आफू उत्साहित भएको बताउनु भएको छ । ललितपुर महानगरपालिका १६ वडाको आयोजनामा भएको १५ दिने उद्घोषण तथा ३ दिने प्रस्तावना, प्रतिवेदन लेखन प्रशिक्षणको समापन समारोहमा उहाँले यस्तो धारणा राख्नु भएको हो ।

यस वडाका महिला सदस्य बबिता श्रेष्ठको सभापतित्वमा महिला समूह केन्द्रीत गरी आयोजना गरिएको प्रशिक्षणको समापन समारोहमा बोल्नुहुँदै उहाँले प्राप्त ज्ञान र गुणको प्रचुर मात्रामा प्रयोग गरी अघि बढ्न तथा वडाको साथ पनि यस्तो कार्यमा सँधै रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्नु हुँदै वडाका महिला सदस्य बबिता श्रेष्ठले मनको कुरा उचित शैलीमा राख्द नसकेकै कारण पछि परेका महिलाहरुलाई अघि बढाउन यो तालिम आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा मन्तब्य तथा उद्घोषण प्रशिक्षक सुरजवीर बज्राचार्यले लक्ष्य प्राप्तिका लागि अघि बढ्न कदम मात्र चाल्नु पर्ने भन्नुहुँदै १५ दिन अघि असम्भव लागेको कार्यमा सबैले दक्षता हासिल गरेकोमा खुशी ब्यक्त गर्नुभयो ।
प्रस्तावना तथा प्रतिवेदन लेखन प्रशिक्षक सुमित्रा शाक्यले ३ दिने प्रस्तावना प्रतिवेदन लेखन ज्ञानको भरपुर उपयोग गर्न सुझाव दिँदै स्थानीय तहको साथका लागि पनि राम्रो प्रस्तावना र प्रतिवेदनको आवश्यक रहनेतर्फ औल्याउनु भयो ।
२८ जना प्रशिक्षार्थी सहभागी यस प्रशिक्षणको समापन समारोहमा प्रशिक्षार्थीहरुबाटै कार्यक्रम योजना, ब्यवस्थापन, सञ्चालन एवं स्वागत, धन्यवाद मन्तब्यका साथै प्रशिक्षणबाट पुगेको लाभका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रम रिले शैलीमा संचालन गरिएको थियाे भने प्रशिक्षार्थीहरूले प्रशिक्षण लिँदाको अनुभव मन्तब्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *