उपप्रमुख डंगाेल सम्मानित
काठमाडौं। कामपाकी उपप्रमुख सुनिता डंगोललाई वल्र्ड इकोनोमिक फोरमको योकाङ ग्लोबल लिडर २०२५ उपाधि प्राप्त गरेका कारण ज्यापू महागुथि नेपाः, ज्यापु संस्कृति विकास कोष लगायतका संस्थाले परम्परागत रुपमा सम्मान गरेका छन् ।
संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना मध्ये राजनीतिक क्षेत्रबाट उहाँको नाम परेको थियो । दक्षिण एसियाबाट ११ जना छनोटमा परेका मध्ये नेपालबाट डंगोल मात्र परेको थियो ।
सम्मान पछि डंगोलले आफूलाई प्रदान गरिएको प्रतिष्ठित ’वल्र्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर २०२५’ समूदायप्रति आफूले गरेको योगदानको प्रतिफल भएको भन्दै आगामी दिनमा पनि थप उर्जाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साथै आफू राजनीतिक पृष्ठभूमिबाट भन्दा पनि समाजसेवाको भावनाले राजनीतिमा प्रवेश गरेको भन्दै बाल्यकालदेखि नै सामाजिक कार्यमा सक्रिय रहेको र ’मिस नेवाः’ को उपाधि जितेको पनि स्मरण गर्दै नेवाः समुदाय, भाषा, लिपि (विशेषगरी रञ्जना लिपि) र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको स्मरण पनि गरे । ’यो अवार्ड विश्वभरका ४० वर्षमुनिका प्रभावशाली युवा नेताहरूलाई प्रदान गरिन्छ, जसले आफ्नो क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् र भविष्यमा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने सम्भावना बोकेका छन्,’ उहाँले भन्नुभयो नेपालबाट राजनीति क्षेत्रमा यो अवार्ड पाउने थोरै व्यक्तिमध्ये आफू पनि एक हुन पाउँदा गर्व लागेको छ ।’
ज्यापु महागुथि नेपाःका केन्द्रीय अध्यक्ष सत्यनारायण डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रममा ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिका अध्यक्ष पञ्चनारायण महर्जनले स्वागत गरेका थिए ।
काठमाडौंका परम्परागत टोलहरु मध्येमा थकाली सानु महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सम्मानित सुनिता डंगोलको व्यक्तित्व तथा कृतित्वमा ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंहले प्रकाश पारेका थिए ।