Uncategorized

श्री हल्चोक आकाश भैरवको बाह्र वर्षे जात्राको मुकुण्डो


युवा चित्रकार रविकर घिमिरे लागिरहेका छन् जीवन्त संस्कृतिलाई जीवन्त बनाउन

– भरत माली र शरण डंगोल

गोबद्र्धन चित्रकारका नाति गणेश चित्रकारका छोरा तेज बहादुर चित्रकारले २०२४ सालदेखि येँया पुन्हिजात्राका एक आकर्षण श्री हल्चोक आकाश भैरवको नाचको मुकुण्डो जिम्मेवारी सम्हाल्दै आउनु भएको पाउँछौं । गणेश चित्रकारका दुई सन्तान छोरी गणेश कुमारी र छोरा तेजबहादुर चित्रकार हुन् । तेज बहादुर रविकर घिमिरेका मामा बाजे हुनुहुन्छ । आफ्ना मामा बाजे तेज बहादुरको पुख्र्यौली पेशाको बिंडो थामेका घिमिरेले बाल्यकालदेखि बडो उत्सुकताका साथ नियाल्दै र सिक्दै विगत २४ वर्षदेखि निरन्तररुपमा हरेक वर्ष येँयाको अवसरमा हुने श्री हल्चोक आकाश भैरवको जात्रा र हरेक १२ वर्षमा हुने गण नाचको मुकुण्डो तयारीमा अहं भूमिका निर्वाह गर्दै आइरहेका छन् र आफ्नो जीवनकालसम्म निरन्तर लागिरहने वचनबद्धता व्यक्त गर्नुहुन्छ । कतै कतै चाँइचुँइ सुनिन्छ कि यो बाहुन जातले हामी चित्रकारहरुको पेशालाई हाँसोको पेशा बनायो भन्ने कुरा । तर उनी भन्छन् मैले कुन परिवेशमा कसरी सिकें र मामाबाजेले कसरी सिकाए, यसको हेक्का राख्न वहाँहरुलाई अनुरोध गर्नुभयो । कथंकदाचित भन्न त नहुने हो मामाबाजे हुञ्जेल कसैले सिधै त भन्न सक्दैन तर वहाँको जीवनकाल पश्चात कसैले कुरा उठायो भने आउनुहोस् वहाँहरुले नै जिम्मा लेओस् । मैले सकुञ्जेल मैले जाने बुझेको कुरा वहाँहरुमा हरपल अर्पण गर्न तत्पर छु । तर पछाडि पछाडि कुरा काट्ने काम चाहिं नगर्न अनुरोध गरे । वहाँ र वहाँका मामाबाजेसँग गरिएको कुराकानीका आधारमा हामी भरत माली र शरण डंगोलले तयार गरिएको हो यो सानोे लेखमाला ।


२०८१ साल चैत्र १ गते हल्चोक देवघरदेखि बाह्र वर्षे जात्राका पुराना १० वटा मुकुण्डोहरु सन्दुकमा राखेर जात्रा गर्दै मासंगल्ली स्थित चित्रकारको घरमा पु¥याएपश्चात जात्राको लागि आवश्यक मुकुण्डोको तयारीमा चित्रकार जुट्ने हुन्छ । भोलिपल्ट बिहानै हाँस बलि सहितको “चा पूजा” (मुकुण्डोको लागि आवश्यक माटोको पूजा) पश्चात् मुकुण्डो तयारी शुरु हुन्छ । अन्य जात्रामा म्हय्पि अजिमाको जंगलबाट माटो ल्याउनुपर्ने परम्परा रहेकोमा यस जात्रामा यो परम्परा रहेनछ । शुद्धी माटो, जुन मुकुण्डो बनाउनको लागि उपयुक्त हुन्छ, लाई हाँसको बलि पूजा गरी सोही माटोबाट मुकुण्डो बनाउन शुरु गरिन्छ ।
थासामा पहिलो तह नेपाली कागज राखेर तत्पश्चात मलमल कपडा, बाक्लो कपडा, म्हेय् कपडा, जुटको कपडा परम्परागत रुपमा तयार गरेको मः (गम) ले टाँसेर मुकुण्डोको आकार निकालिन्छ । २०३२ सालमा विज्ञ चित्रकारहरुको उपस्थितिमा बनेको थासा हालसम्म प्रचलनमा रहेको छ ।
हरेक वर्ष भैरव, चण्डी कुमार र चण्डी कुमारीका मुकुण्डोहरु येँयापुन्हि जात्राको लागि भने कुशे औंशीको भोलिपल्ट ल्याई पु¥याउँछ र चित्रकारद्वारा मर्मत र रंगरोगन गरी तयारी गरिन्छ, जसलाई लँपू छायेगु भनिन्छ । पहिले पहिले यस कार्यको लागि जम्माजम्मी क्षमा पूजा गर्न एउटा हाँस, १० वटा हाँसको अण्डा दिने गरिन्थ्यो रे । जसमा हाँस र १ वडा अण्डा बलि सहितको क्षमा पूजाको लागि र बाँकी ९ वटा अण्डा मध्ये तीनवटा मुकुण्डोमा बार्नेस गर्न ३।३ वटा खर्च हुन्थ्यो रे । समय परिस्थिति अनुसार यस चलनमा केही परिवर्तन भने आएको देखिन्छ ।
यस जात्रामा आकाश भैरव, आकाशदेवी, चण्डी कुमार, चण्डी कुमारी, भद्रकाली, दक्षिणकाली, बाराही, गंगा, शिव र पार्वती गरी जम्मा १० देवगणहरु रहेका हुन्छन् । मुकुण्डो आधा तयार भैसकेपछि जाँच गर्न देवगण हुने र नायःहरु पटक पटक कलाकारको घरमा आउने गरिन्छ ।
यो मुकुण्डो बनाउने कार्य गर्दाको एउटा नियम रहेको पाउँछौं । बिहान नित्य पूजा पश्चात मुकुण्डो बनाउने कार्य शुरु गर्ने र मध्यान्ह १२ बजेपछि काम रोक्नु पर्ने रहेछ । कथंकदाचित मुकुण्डोमा कुनै क्षति भएमा त्यसको मर्मत गर्नको लागि बर्षेनि जात्रा हुने ८ दिन र यो बाह्रे वर्षे जात्रा अवधिभर कलाकार तैयारी अवस्थामा रहनु पर्ने हुन्छ ।
रंगहरुको कुरा गर्दा रंगहरु पहिले पहिले सबै नै प्राकृतिक रंगहरु प्रयोग गरिन्थ्यो । कालान्तरमा यसरी रंग बनाउन सम्भव नभएपछि बजारमा पाउने उत्कृष्ट रंगहरु किनेर त्यसको प्रयोग गरिन थालेको रहेछ । अझ पुराना हस्तलिखित ग्रन्थहरुमा त कस्तुरीको बिना नभै नहुने भनी लेखिएको छ रे ।
दैनिक बिहान नित्य पूजा र साँझ आरतीको क्रम जात्राको लागि मुकुण्डो लिन नआएसम्म निरन्तर हुने हुन्छ । मुकुण्डो तयार भैसकेपछि जात्राको एक दुई दिन अघि क्षमा पूजा गरे पश्चात भने मुकुण्डोमा चित्रकारहरुबाट छुने काम गरिदैन । मुकुण्डो लिनको लागि गुथिबाट भेँडा सहितको बलि पूजा हुन्छ र मुकुण्डोहरु देवघरमा जात्राको लागि फिर्ता लाने गरिन्छ यसरी लिन आउँदा अर्को खालि सन्दुक सहित आउछन् लिएर जान्छन् ।
पहिले स्वानछगः धेवा (३१ पैसा) बाट मुकुण्डो तयार गरिंदै आएकोमा, विगत २०४६ सालपछि गुथि संस्थानबाट रु. ४० हजार र हाल त्यसमा केही थप रकम पाउँदो रहेछ । त्यो बेला र अहिले पनि यति रकमले यतिका मुकुण्डो तयार हुन्छ त ? भन्ने प्रश्नमा पुख्र्यौली पेशा, त्यसमाथि देवताको काम, भगवानले हेरी रहेकै छ, मनमा शान्ति र देहमा सुखले बास बसेकै छ, त्यो भन्दा बढी के नै चाहियो र भनी हामीमाथि नै प्रतिप्रश्न तेस्र्याएपछि हामी चुप लाग्यौं ।
विशेष पूजाको लागि आवश्यक पूजा सामग्री र मुकुण्डो देवघरबाट चित्रकारको घरमा ल्याउन लानको लागि एक बाँसको नोल (जसमा पनि कलाकारबाट रंगरोगन गर्ने गरिन्छ) गुथिबाट प्रदान गर्ने भए पनि मुकुण्डो तयार गर्न आवश्यक नेपाली कागज, कपडा, डोरी, रंग, माटो लगायत सम्पूर्ण सामग्रीहरु कलाकार आफैले व्यवस्था गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *