Uncategorized

हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुरु


काठमाडौं उपत्यका मानव सभ्यता, संस्कृति र सम्पदाको विकासको एक महत्वपूर्ण केन्द्र हो । विश्व सम्पदामा सूचिकृत नेपालका सात वटा सम्पदाहरु मध्ये काठमाडौंको हनुमानढोका दरवार, स्वयम्भू, पशुपति क्षेत्र तीन वटा काठमाडौंमा नै छन् । यसै विश्वसम्पदामा सूचिकृत सम्पदाहरु मध्ये एक महत्वपूर्ण सम्पदा स्वयम्भूबाट पश्चिमपट्टि रहेको इचंगु (हाल नागार्जुन नगरपालिकाको ३ नं वडा) स्थित हल्चोक पनि साँस्कृतिक दृष्टीकोणबाट महत्वपूर्ण स्थान हो । यहाँको भैरव श्री हल्वोक आकाश भैरवको नामबाट प्रख्यात हुनुहुन्छ । यस भैरवको हरेक वर्ष इन्द्रजात्राका अवसरमा जात्रा तथा नृत्य प्रदर्शन हुने गर्दछ भने प्रत्येक १२ वर्षमा एकपटक श्री हल्चोक आकाश भैरव सहित १० देवदेवीहरु सहितको हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा संचालन गरिन्छ ।
हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा वैशाख महिनाभरि संचालन गरिन्छ । वि.सं. २०८२ वैशाख १ गते हल्चोकमा पञ्चबली पूजा गरी सुरुवात गरिन्छ । वैशाख २ गते हल्चोकबाट देवीदेवताहरुका मुकुटलाई ताम्सिपाखामा ल्याई ताम्सिपाखाबाट जात्रा संचालन गरी काठमाडौंको विभिन्न महत्वपूर्ण स्थानहरुमा पूजाआजा गरी डबलीमा देवदेवीनाच नचाइन्छ । १२ वर्षे जात्राको क्रममा श्री हल्चोक आकाश भैरवको देवगणका रुपमा १० जना देवदेवीहरुको नाच प्रदर्शन गरिन्छ । जसमा पहिलो नृत्य श्री चण्डी र श्री कुमारी, दोस्रो नृत्य श्री हल्चोक आकाश भैरव, तेस्रो श्री गंगा, श्री महादेव र श्री पार्वती, चौथो श्री आकाशदेवी र श्री बाराहीत तथा अन्तिममा श्री महाकाली र श्री दक्षिणकाली देवीको नृत्यहरु रहेका छन् । तत्पश्चात पञ्चबली पूजा हुने गर्दछ ।


यस नाच प्रदर्शन अगाडि पुतुबार समुदायका गुचिवारहरु नागार्जुनको छाहारे र आकाशदेवी स्थानमा गई पूजा गर्दछन् । त्यसबेला देवशक्ति हावाको माध्यमबाट झ्याली, बाजा र चिलाख मध्ये एउटामा प्रवेश गर्दछ भनी ती सामग्रीहरुमा विशेष ध्यान दिई बसेको हुन्छ । तीमध्ये कुनै एकमा शक्ति प्रवेश भएको आभास भएपछि त्यसलाई कपडाले छोपछाप पारी देवभरमा लगिन्छ । यसपछि देवघरमा विशेष पूजा गरी सकेपछि सोही दिन “बासा लायेगु” गरी देवदेवीलाई हल्चोक परिक्रमा गराउने प्रचलन रहेको छ । वैशाख २ गतेका दिन बिहान सबेरै हल्चोकबाट श्री आकाशभैरव गणलाई काठमाडौंको ताम्सीपाखामा विराजमान गराइन्छ । यसैदिन ताम्सिपाखाबाट हनुमानढोकास्थित कालभैरव मन्दिर अगाडि इन्द्रजात्रामा यःसिं उठाउने स्थानमा गुथीवाट नै पञ्चवली सहितको पूजाबाजा गरिन्छ । यसपछि १ महिनासम्म जात्रा सञ्चालन गरीसकेपछि हल्चोकमा गई विसर्जन गरी अन्त्यमा पञ्चवली पूजा गरी जात्रा समापन गर्ने प्रचलन रही आएको छ । यस नाचमा अविवाहित पुतुवार समाजका युवाहरुले मात्र सहभागिता जनाउने गर्दछ । १२ वर्षे जात्रा सम्पन्न भएपछि जेठको पहिलो साता हल्चोकमा पञ्चवलीसहित समापन पूजा गर्ने परम्परा रही आएको छ ।
श्री हल्चोक आकाश भैरवलाई काठमाडौका स्थानीय नेवारहरुले सवःद्यः वा सव भकु पनि भन्दै आएको पाइन्छ । श्री हल्वोक आकाश भैरवको जात्रा आजभन्दा १०३८ वर्ष पहिले नेपाल संवत् १०७ मा काठमाडौंका संस्थापक राजा गुणकामदेवले संचालन गरेको आख्यान रहेको छ । राजा गुणकामदेवलाई महालक्ष्मीले दर्शन दिनुभएको र उहाँकै आदेश अनुरुप राज्यलाई शत्रुको भयबाट मुक्त गर्नका लागि हल्चोकमा श्री आकाश भैरवसहित विभिन्न देवताहरु तान्त्रिक विधिले उत्पन्न गराई स्थापना गरेको वंशावलीमा उल्लेख गरिएको पाइन्छ । राजा गुणकामदेवले काठमाडौंको रक्षाका लागि चारै दिशामा अष्टमातृका स्थापनाका साथै विभिन्न भैरव पनि स्थापना गर्नुभएको किम्वदन्ती रहेको छ । हल्वोक आकाश भैरवको १२ वर्षे जात्रा भने राजा अमर मल्लले शुरु गर्नुभएको वंशावलीमा उल्लेख गरिएको छ । नेवार परम्परा अनुरुप अष्टमातृका र भैरवको ठूलो महत्व रहेको छ ।
तन्त्रमा विश्वास गर्ने नेवार समुदायले विभिन्न देवदेवीहरुलाई विभिन्न तत्वका रुपमा पुजिंदै आएको छ । तान्त्रिक मतमा पञ्चतत्व मध्ये एक महत्वपूर्ण तत्व वायु पनि हो । श्री हल्चोक आकाश भैरवलाई वायु तत्वको रुपमा पनि पुजिने गरिएको छ । आजपर्यन्त कसैलाई वायुसम्बन्धी विकार भएमा हल्चोकमा पूजा गर्ने परम्परा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *