पनौती जात्रामा दुँईचा न्याकेगु
पनौती जात्राको पहिलो दिन तर विधीको हिसाबले पर्वको चौथो दिन साँझ “दुँईचा न्याकेगु” नामक पर्व मनाइन्छ।
पूण्यमती नदीको पुल तरेर पुजारी, एक महिला र भरियाको टोलीले नदीको अर्को किनारमा रहेको ब्रह्मायानीलाई तान्त्रिक पुजा गर्ने काम हुन्छ। ‘दुँई’ टोलीमा एक मात्र महिला सदस्य हुन्, टोलीका अन्य सदस्य पुरुष हुन् । महोत्सवको यो भागलाई महिला टोली सदस्यको सम्मानमा ‘दुँई’ भनिन्छ।
दर्शकहरूले धैर्यताका साथ तीन उपासकहरूलाई घण्टौँ लगाएर पूण्यमाता नदी माथिको पुल पार गरिरहेको हेर्छन्।
एक पटक पूण्यमती नदीमा बाढीको बहाव बढे पछि नदीको अर्को छेउमा रहेको ब्रह्मायनी र भद्रकाली देवीलाई नदी पार गरेर पूजा गर्न जान कठिन भएको र सो पूजा नगरी जात्राको सुरुवात नहुने किंवदन्ती छ । त्यसैले, पूजा टोलीले नागहरूका राजा बासुकीलाई आव्हान गरे । तान्त्रिक पुजारीहरुको पुकारा सुनेर नागराज बासुकी आफ्नो जीवनसँगीका साथ आए र पूण्यमती नदीमा पुल जस्तो बनेर नदीको वारपार बसे । पूजा टोलीहरू नागहरूको शरीरमा हिँडेर नदीको अर्को किनारमा रहेका ब्रह्मायणी मन्दिरमा पुगे। नागको शरीर धेरै चिप्लो हुन्छ त्यसैले पूजा टोलीका सदस्यहरू पालैपालो नागको चिप्लो शरीरमा बिस्तारै इन्च इन्च पाइला सारेर बढे। यसैकाे प्रतीकात्मकरूपमा अहिले पनि हरेक वर्ष यस दिनमा पूजा टोली नागहरूको शरीरमा हिँडे जस्तो गरेर पूण्यमाता नदीको पुल पार गर्छन । पुलमा सबैभन्दा पहिला नाग देवतालाई भेटी चढाउने पुजारी हिँड्छन्, उनी यति सावधानीपूर्वक हिँड्छन् कि सबैले पूर्ण मौनतामा उनको गति हेर्छन्। करिब २० मिटर लामो पुल पार गर्न उनलाई आधा घण्टाभन्दा बढी समय लाग्छ। त्यसैगरी देवीदेवतालाई भेटी चढाउने भरिया पनि पुलमा इन्च इन्च हिँड्छन् । अन्तत: तेलको बत्ती र चामल बोकेर ‘दुँई’ भनिने महिला होसियारीपूर्वक पुलमा आइपुग्छिन् र इन्च इन्चमा हिँड्छिन्। नदी पार गरेपछि, दुँईया न्याकेगु पर्वको समाप्त हुन्छ। त्यसपछि नदी पारी ब्रह्मायणी देवीको मन्दिरमा तान्त्रिक पूजा गर्ने तयारी सुरू हुन्छ ।
यसपछि भद्रकालीलाई मन्दिरबाट बाहिर निकालेर मन्दिर नजिकै रहेको रथमा चढाएर ब्रह्मयानी मन्दिरसम्म पुर्याइन्छ । भक्तजनहरूले भद्रकालीको रथलाई पनौतीको साँघुरो गल्ली हुँदै पूण्यमती नदीको पुलमा तानेर लैजान्छन्। त्यहाँबाट दुईजनाले देवी भद्रकालीलाई बोकेर ब्रह्मयानी देवीको मन्दिरमा लगेर देवी ब्रह्मयानीको छेउमा राख्छन्। त्यसपछि, पुजारी, एक महिला र एक भरियाको टोली मन्दिर भित्र पस्छन् र मन्दिरको ढोका बन्द गरी भोलिपल्ट बिहानसम्म देवीहरूलाई तान्त्रिक भेटी दिइ पुजा गर्छन् ।
स्रोत: Hamro Panauti