प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियन्सीप २०८२ असारमा
४ जेठ २०८२, काठमाडौं । “व्यायाम गरौं, स्वस्थ रहौं”, “स्वास्थ्यका लागि व्यायाम” नाराका साथ कामपा २२ वडाको आयोजनामा प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियन्सीप २०८२ यही २०८२ साल असार ६ र ७ मा हुने भएको छ ।
नेपाल शारिरीक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुने उक्त ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ भन्दा माथि तौलसमुहमा प्रतिस्पर्धा गराइनेछ ।

फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहबाट प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः स्वर्ण, रजत तथा काँस्य पदकसहित नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ भने हरेक तौल समूहमा विजेता, उपविजेता र तेस्रो स्थानमा रहने खेलाडीलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपियाँ प्रदान गरिनेछ । साथै प्रत्येक तौल समूहको विजेताहरु मिस्टर महानगरको दावेदारिताका लागि ओभरअल प्रतिस्पर्धामा खेल्नका लागि छनोट हुनेछन् । ओभरअल प्रतिस्पर्धामा विजेता खेलाडीलाई मिस्टर महानगरको टाइटलसहित नगद रु. पाँच लाख, ट्रफी र ब्यानेटले सुसज्जित गरिनेछ ।

कार्यक्रममा प्रतियोगितामा महानगरमा अस्थायी बसोबास गरेका खेलाडहिरुले सम्बन्धित वडाको सिफारिस सहित यस प्रतियोगितामा भाग लिन पाउने पनि जानकारी दिए ।
यस वर्ष पुरुष तर्फमात्र प्रतिस्पर्धा गरिने र अर्को वर्षबाट महिला तर्फबाट पनि प्रतिस्पर्धा गराउने प्रयास गर्ने आयोजकले बताए ।
सामाजिक, सांस्कृतिक क्षेत्रमा निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको यस वडाले खेलकुदको विकासमा पनि आफ्नो सक्रियता बढाउँदै लगेको जानकारी गराउँदै यही जेठ महिनामा काठमाडौं महानगरपालिका २२ वडाले सहिद सुरज शाक्य स्मृति महानगरव्यापी अन्तर वडा बुद्धिचाल प्रतियोगिता पनि आयोजना गर्नेछ ।