मच्छिन्द्रनाथको जात्रा सम्पन्न
१९ जेठ २०८२ । , ललितपुर ।
विश्वको लामो रथयात्रा हिजो भोटो जात्रासँगै सम्पन्न भएको छ । मच्छिन्द्रनाथको भोटो रथको चारै कुनाबाट प्रदर्शन गरिने गरिन्छ । सो जात्रा हेर्न सर्वसाधारणदेखि राष्ट्रप्रमुख समेतको उपस्थिति रहेको थियो ।

मच्छिन्द्रनाथको रथ लगनखेलको इतिटोलबाट जावलाखेल पु¥याइएको चौथो दिन भोटो देखाउने परम्परा रहि आएको छ । सोहि अवसरमा ललितपुरका राजकिय जीविन देवी श्री कुमारीको सवारी चलाइएको थियो ।

गत वैशाख ११ गते पुल्चोकबाट सुरु भएको रथयात्रा गाबहाल, मंगलबजार, सुन्धारा, इतिटोल, लगनखेल र लगनखेलमा मच्छिन्द्रनाथकी आमाको तीन चक्कर पछि इतिटोलमा रथ बिसाइन्छ र साइत हेरी जावलाखेलको यात्रा तय गरिन्छ ।

यसै रथयात्राका बिचमा जाह्वला जात्रा, नैक्यालं लुयेगु जात्रा, याकंमिसा भुज्या लगायत विभिन्न जात्राहरु हुने गर्दछ ।
भोटो जात्रा पश्चात मच्छिन्द्रनाथको मूर्तिलाई सानो खटमा राखी जात्रा गर्दै बुंगमती लगिन्छ र त्यहाँ मन्दिरमा विराजमान गराइन्छ । यस वर्ष एक दशकपछि मच्छिन्द्रनाथको पाटी बास समाप्त भै मन्दिरमा बास भएको छ । गत २०७२ सालको महाभूकम्प मच्छिन्द्रनाथको मन्दिर पनि ध्वस्त भएको थियो जुन बाह्रवर्षे जात्रा शुरु भएको केही दिनमै भएको थियो । तत्पश्चात मच्छिन्द्रनाथलाई मन्दिरको दक्षिणपट्टि पाटीमा राख्दै आएको थियो ।

श्रीको मन्दिर तयार भएको खुशियालीमा एक दशक पछि बुंगमतीबासी उल्लासमय बातावरण लिई भक्तजनहरु श्रीलाई स्वागत गर्न जावलाखेल नै पुगेको पनि भेटिन्छ । गत वर्ष नख्खु कटेपछि मात्र छ्वालीप्वाको झिल्को देखिन्थ्यो भने यस वर्ष जावलाखेलमै छ्वालीप्वाको झिल्को देखिएको थियो ।
श्रीलाई अन्नदाता, पानी पार्ने देवताका रूपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रूपमा मानिने भएकाले यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व रहिआएको छ ।