साउथ वेस्टर्न स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीमा कर्तव्यपथ तालिम सुरु
१० जेष्ठ २०८२, काठमाडाैं।
राजधानीको बसुन्धरास्थित साउथ वेस्टर्न स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीमा बुधबारदेखि सात दिने मिसन कर्तव्यवोध तालिम सुरु भएको छ । ईगल थिंक ट्याङ्कको सहकार्यमा साउथ वेस्टर्न स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी र युनिभर्सिटी अफ थ्री जेनेरेसनको संयुक्त आयोजनामा तालिम सुरु भएको हो । विद्यार्थीहरुमा राष्टियता र नैतिकताको बोध गराउन सहयोग गर्ने उद्देश्यका साथ तालिम सुरु भएको हो ।
युवाहरुमा मातृभूमिप्रतिको दायित्वबोध गराउँदै विदेश पलायनको बढ्दो प्रवृत्तिलाई सन्तुलन गर्न दूरगामी प्रयासस्वरुप एक राष्ट्रिय अभियानको थालनीको क्रममा तालिम सुरु गरेको जनाइएको छ । कर्तव्यपथ नामाकरण गरी नेपाली युवाहरूलाई राष्ट्र निर्माणको मार्गमा अग्रसर गराउने उद्देश्यका साथ अभियान थालनी गरिएको हो ।
युवाहरूलाई सक्षम, जिम्मेवार र देशभक्त नागरिकको रूपमा विकासित गरी समृद्ध र शान्त नेपाल निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षाका साथ पहिलो पटक विद्यार्थी समूहमा तालिम थालिएको जनाइएको छ । नैतिकवान नेतृत्व, अनुशासित जीवनशैली, प्रगाढ राष्ट्रिय चेतना, जिम्मेवार नागरिकता र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्नसक्ने क्षमताले सुसज्जित गर्ने पवित्र उद्देश्यका साथ “कर्तव्यपथ“ नामक एक सात दिने विशेष तालिम कार्यक्रमको थालनी गरिएको जनाइएको हो ।
तालिम कार्यक्रमले सहभागीहरूको शारीरिक, मानसिक, नैतिक र नेतृत्व क्षमताको समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य लिएको छ । प्रशिक्षणको क्रममा सहभागीहरूले अनुभवी सुरक्षा विज्ञहरू, वरिष्ठ कूटनीतिज्ञहरू, प्रतिष्ठित प्राध्यापकहरू र संयुक्त राष्ट्रसंघीय पूर्व शान्ति सैनिक तथा प्रहरी अधिकारीहरूबाट प्रत्यक्ष ज्ञान र अनुभव प्राप्त गर्ने अवसर पाउने जनाइएको छ ।
तालिमको संयोजन ईगल थिंक ट्याङ्क नामक नेपाली सेनाबाट सेवानिबृत उच्चस्तरीय सैनिकहरुको संगठनले गरेको छ । तालिममा विज्ञ प्रशिक्षकको व्यवस्था ईगल थिंकले नै मिलाएको छ ।
ईगल थिंक ट्याङ्कका प्रबन्ध निर्देशक तथा पूर्व सैनिक कूटनीतिज्ञ ब्रिगेडियर जनरल रामचन्द्र खत्री (अवकाशप्राप्त) ले आजको जटिल सुरक्षा, कूटनीति र विश्व शान्ति व्यवस्थामा नेपालले अनुशासित, जानकार र नैतिक प्रतिबद्धतायुक्त नयाँ पुस्ताका नेतृत्वहरू तयार गर्नु अपरिहार्य भएकोले यस्तो अभियानको थालनी गरेको जनाए । “कर्तव्यपथ“ केवल एक तालिम मात्र नभई यो एक राष्ट्रिय अभियान हो, जसले हाम्रा विद्यार्थीहरूमा राष्ट्रिय गौरव, अनुशासन, नैतिकता र सेवा भावलाई जागृत गर्नेछ, उदघाटन कार्यक्रममा उनले भने ।
उदघाटन कार्यक्रममा युनिभर्सिटी अफ थ्री जेनेरेशनका अध्यक्ष डा राजेन्द्र केसीले यो तालिममाले विद्यार्थीमा अनुशाशण, समयको व्यवस्थापन, टिम व्यवस्थापनबारे राम्रो ज्ञान हुने विश्वास व्यक्त गरे । साथै यसले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा पनि उल्लेखनीय भूमिका खेल्ने विश्वास उनले लिए । आयोजक साउथ वेस्टर्न स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीका प्राचार्य इन्जिनियर दीपक धामीले तालिमले विद्यार्थीको चातर्फी विकासमा सहयोग गर्ने गहिरो विश्वास व्यक्त गरे । उनले सहयोगीहरुप्रति पनि विशेष धन्यवाद व्यक्त गरे । तालिममा कुल ४० जना विद्यार्थीहरु सहभागी भएको र उनीहरु कलेजमा बीबीए र बीएचएम अध्ययनरत विद्यार्थी रहेको जानकारी उनले गराए ।
कर्तव्यपथ राष्ट्र निर्माणको सारथी बन्ने युवाहरूको लागि एक विशेष तालिम भएको कार्यक्रममा बताइयो । यो तालिम विशेषगरी मुलुक र समाज सेवामा समर्पित भावना भएका, भविष्यमा सुरक्षा निकाय, कूटनीतिक क्षेत्र, नागरिक प्रशासन र संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा सक्रिय भूमिका निर्वाह गर्नसक्ने युवाहरूलाई लक्षित गरिएको जनाइएको छ ।
तालिम निःशुल्क रहेको छ । तालिमले युवाहरूलाई आफ्नो मातृभूमिप्रतिको दायित्वबोध गराउँदै विदेश पलायनको बढ्दो प्रवृत्तिलाई सन्तुलन गर्न एक दूरगामी प्रयास हुने विश्वास गरिएको छ ।
“कर्तव्यपथ“ ले युवाहरूलाई अनुशासनको महत्त्व, नैतिक मूल्यमान्यताको पहिचान, शारीरिक सहनशीलताको विकास, दूरदर्शी नेतृत्व क्षमताको अभिवृद्धि र अन्तर्राष्ट्रिय शान्ति कार्यको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरी उनीहरूको व्यक्तित्व विकासलाई नयाँ दिशा दिने लक्ष्य राखेको छ ।
तालिमलाई अझ प्रभावकारी बनाउन सुरक्षा अध्ययन भ्रमणलाई पनि कार्यक्रमको अभिन्न अङ्ग बनाइएको छ । यस अन्तर्गत सहभागीहरूलाई नेपाली सैनिक तालिम प्रतिष्ठान खरिपाटी, भक्तपुर; गरुड सेक्युरिटी प्रा.लि. महाराजगञ्ज, काठमाडौं र अल्टिमेट भेन्यु नेपाल, कपन, काठमाडौंको अवलोकन गराइने योजना राखिएको छ ।
आर्थिक अभावका कारण कुनै पनि इच्छुक विद्यार्थी यो महत्त्वपूर्ण अवसरबाट वञ्चित नहोस् भन्ने उदात्त उद्देश्यले यो तालिम पूर्ण रूपमा निःशुल्क प्रदान गरिनेछ । यस कार्यक्रममा संलग्न सबै स्रोत व्यक्ति तथा विज्ञहरूले आफ्नो अमूल्य समय र ज्ञान निःस्वार्थ रूपमा प्रदान गर्ने जनाइएको छ ।
तालिमको समापनमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ । यसले उनीहरूको व्यक्तिगत विवरण (सीभी) लाई थप आकर्षक बनाउने छ । यसका साथै, तालिम अवधिमा ईगल आइ अनलाइन क्विज कन्टेष्ट पनि आयोजना गरिने जनाइएको छ । यसमा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने युवाहरूलाई उचित पुरस्कार प्रदान गरिने जनाइएको छ । इच्छुक प्रायोजक वा दाताहरूले यस प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गर्न सक्ने जनाइएको छ ।
आयोजकहरूले स्थानीय निकाय, महानगरपालिका, नगरपालिका, गाउँपालिका तथा विभिन्न शैक्षिक संस्थाहरूलाई यस्ता युवा सशक्तिकरण, नागरिक शिक्षा र नेतृत्व विकास कार्यक्रमलाई आफ्नो नीति तथा कार्यक्रमको अभिन्न अङ्ग बनाउन आग्रह गरेका छन् । नव स्थापित ईगल थिंक ट्याङ्क यस प्रकारको तालिम सञ्चालन गर्न प्रतिबद्ध रहेको र आवश्यक सहयोग गर्न तयार रहेको पनि जानकारी गराइएको छ ।